मकवानपुरमा एक साता निषेधाज्ञा थपियो
मकवानपुर / जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभर एक साता निषेधाज्ञा थप गरेको छ । जेठ १३ गते राति १२ बजेदेखि २० जेठ राति १२ बजेसम्म निषेधाज्ञा थप हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
जेठ २० सम्म थप हुने निषेधाज्ञाको उल्लघंन गर्नेलाई कारबाहीमा कडाई गरिएको छ । व्यक्तिले निषेधाज्ञा उल्लघंन गरे १ लाख र संस्थाले उल्लघंन गरेमा ५ लाखसम्म जरिवाना गरिने भएको हो । यस्तै मास्क नलगाउनेलाई एक सय रुपैयाँ, आवतजावत रोक लगाइको उल्लघंन गर्नेलाई पटकै पिच्छे २ सय रुपैयाँ, अनुमति नलिई सवारी चलाउने दुई पाङ्गेलाई २ हजार र अन्यलाई ५ हजार रुपैयाँ जरिवाना गरिने जनाइएको छ । निषेधाज्ञा अटेर गर्नेलाई अतिरिक्त ६ महिनासम्म कैद पनि गर्न सकिने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्प, ग्याँस डिपो, अक्सिजन सिलिन्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । तर, हेटौडा उपमहानगरपालिकाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका औषधी, कृषि बीउबिजन तथा मल तथा भेटनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ । सो क्षेत्रमा खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरु सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाइल भ्यानमार्फत टोल–टोलमा विक्री वितरण गर्न दिइने भएको छ ।