आज विश्व क्षयरोग दिवस मनाइँदै
काठमाडौँ– आज विश्व क्षयरोग विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका थिए । बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुराना गरी एक लाख करिब १७ हजार क्षयरोगका बिरामी छन् । तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग उपचार गराएका छन् ।
यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका बिरामी उपचार सम्पर्कबाट बाहिर छन् । उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको उनले बताए । तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।