वट सावित्री व्रत र यसको महत्व
भरतपुर, चितवन/आज जेठ महिनाको अमावाश्य तिथि आजको दिन नवविवाहित महिलाहरुले पतिको दीर्घायु, दाम्पत्य जीवनको सफलताको कामना गर्दै वट सावित्री पर्व मनाउने गर्छन् । वट सावित्रीको पूजाका लागि व्रतालुहरु शुभ पहिरनमा सजिएर वर पिपलको रुखमुनी सामूहिक रुपमा पूजा गर्ने चलन छ ।महिलाहरु दिनभरी निराहार बसी वट सावित्री पर्व उत्साहका साथ निष्ठापूर्वक मनाउने गर्दछन् । मिथिला संस्कृतिमा यस पर्वलाई स्थानीय भाषामा ‘वसराइत’ पनि भनिन्छ ।प्राचीन कालमा सावित्रीले आफ्ना पति सत्यवानको अल्पायुमा निधन भएपछि यसै व्रतको प्रभावले पूनर्जीवन पाएको जनश्रुति छ ।सावित्रीको व्रतबाट खुसी भएका यमराजले उनको पतिको प्राण फिर्ता गरेको जनविश्वास रहंदै आएको छ । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दै छन् । सौभाग्य–समृद्धि प्राप्तिका लागि यस व्रतमा वरको रूखको पूजाआजा गर्ने चलन छ ।वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको जनविश्वासअनुसार यस व्रतको शुरुआत भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ ।मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको छ । वटवृक्ष दीर्घायू वृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।
यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछिन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछिन् ।यसमा वटवृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटवृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पुजा गर्दा ब्रह्मा,बिष्णु, महेश्वर , सावित्री ,सत्यवान, यम ,यमुनाको पुजा गर्नु पर्ने विधान छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएकी थिइन् ।वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछिन् । केवल मिथिला संस्कृतिमा मात्र नभएर यो पर्वले हिमाल, पहाड ,तराई र प्रकृतिको उचित प्रयोग र सम्बर्द्धनमा महत्त्वपूर्ण भुमिका खेल्दछ । विभिन्न धर्म ग्रन्थहरुमा १० सन्तान बराबर १ वृक्ष भनिनुको कारण पनि प्रकृति प्रेम र धर्मको उजागर हो । वर र पिपल विना चौतारो नहुने र यसको निर्माण गरे स्वर्ग प्राप्ती हुने । काट्न, मास्न नहुने धार्मिक प्रमाण छ र जन विश्वास पनि । अरु सय बृक्षले दिने फाइदा १ बृक्षले दिनु यसको अझ गरिमा हो । यसको गरिमा लाई नबुझेर केही समय सारा चौतारीहरु मास्ने हर्कतहरु पनि भए तर आज बल्ल चेत खुलेको छ । रुखलाई रुख मात्र देख्नु केवल संकीर्ण सोच हो भने भगवान भनेर ढुङ्गालाई बिष्णु र शिव, रुखलाई भगवान ,झारलाई कुश र पानीलाई आमा मान्ने वैदिक संस्कार र संस्कृति विश्वको अनुपम उपहार हो । यदि चौतारी र खाली ठाउँ राखिएन भने भोलि भुकम्प जस्तो महामारी आउदा घरै घर भएको समाजमा परदेशी सग उद्धारको भिख माग्नुको विकल्प छैन । नगर र पालिकामा बनाउने आधुनिक पार्कको योजना यो संस्कृतिको एक नक्कल मात्र हो ।
वरले बाताबरणको कार्वन लगायतका हानीकारक वायु शुद्धीकरणमा महत्वपूर्ण भमिका खेल्दछ । धार्मिक र वैज्ञानिक महत्वले भरिपुर्ण वर आयुर्वेदिक औषधिको मात्र स्रोत नभएर पर्यावरणलाई शुद्धीकरण गर्ने अचुक निधि भएको कारणले सबैले संरक्षण सम्बर्द्धन गरौ ।
ज्योतिषाचार्य पं .बालचन्द्र अधिकारी