नयाँ वर्षको अवसरमा दमकमा चर्चित नेपाली ब्याण्ड नेपथ्यको कन्सर्ट हुदै
काठमाडौं – चर्चित नेपाली ब्याण्ड ‘नेपथ्य’ले नयाँ वर्षका दिन दर्शकमाझ आफ्नो प्रस्तुती देखाउने भएको छ।
आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ। दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरी एक पटक उभिने भएको छ । यसभन्दा पहिले पनि नेपथ्यले यसै मैदानमा चार हजारभन्दा बढी दर्शकको उपस्थितीमा सांगितिक कार्यक्रम गरेको थियो।
वैशाख १ गते हुने कन्सर्टका लागि नेपथ्यले आफ्नो तयारी तीव्र बनाएको छ। वाद्यवाधन र मञ्चका लागि आवश्यक सामाग्री काठमाडौंदेखि दमक पुर्याइसकिएको ब्याण्डको व्यवस्थापन गर्दै आएका नेपालयका किरणकृष्ण श्रेष्ठले बताए। दमकमा नेपथ्यको यो पाँचौ प्रस्तुती हुनेछ ।
दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।
कन्सर्टको टिकट बिक्रीका निम्ति दमक बाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ। अनलाइन टिकट थुप्रै डटकम मार्फत प्राप्त हुने व्यवस्था गरिएको छ ।
नयाँ वर्षको दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिने बताइएको छ।








