रेडियो   टिभी

बन्दिपुरमा सडक खाना महोत्सव चैत्र ३० देखि वैशाख २ गतेसम्म हुने


तनहुँ – तनहुँको बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्न नयाँ वर्षका अवसरमा सडक खाना महोत्सव सञ्चालन गरिने भएको छ । चैत ३० देखि वैशाख २ गतेसम्म सडक खाना महोत्सव सञ्चालन गरिने बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताएका छन् । नयाँ वर्ष मनाउन तनहुँकै सर्वसाधारण पनि पोखरा, चितवन जाने प्रचलन रहेको हुँदा युवाहरुलाई बन्दिपुरमै भुलाउनुका साथै मनोरञ्जन प्रदान गर्न यो कार्यक्रम उपयुक्त बन्ने होटल व्यवसायी प्रधानले बताए ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्दै पर्यटकलाई आकर्षित गराउने उद्देश्यसहित सडक खाना महोत्सव आयोजना गरिएको अध्यक्ष प्रधानले बताए । बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ बन्दिपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दिपुर बजार इकाइको संयुक्त आयोजनामा सडक खाना महोत्सव आयोजना गरिएको हो ।

बन्दिपुरमा आयोजना हुने सडक खाना महोत्सवले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका पर्यटकलाई पनि बन्दिपुर आउन सहयोग पुग्ने व्यवसायी प्रधान बताउँछन । सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच, पुतली च्वे प्रदर्शन गरिनुका साथै ‘दी इन्ट्रो ब्यान्ड’ को प्रस्तुति रहने अध्यक्ष प्रधानले बताए । महोत्सवसंगै बन्दिपुरमा सुस्ताएको पर्यटकीय गतिविध चलायमान बन्नुका साथै आन्तरिक र वाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुग्ने स्थानीय व्यवसायीहरुले विश्वास गरेका छन् ।

बन्दिपुरमा होटल संघसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दिपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमश्रृंखला देखिन्छन् ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षाको केन्द्रविन्दु बन्ने गरेका छन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>