भोजपुरमा बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने
भोजपुर । भोजपुरमा यही बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । भोजपुरको बाघखोरदेखी खोटाङको साकेला गाउँपालिकाको तावाभञ्याङसम्म ४५ किलोमिटरमा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
विदेशीहरुलाई प्राथमिकता राखेर सञ्चालन गर्न लागिएको प्रतियोगितामा देश तथा विदेशका धावकहरु गरी १५० देखी २०० जनासम्मको सहभागिता रहने रिमाचुङ एजुकेशन एण्ड स्पोटेस् एकाडेमी भोजपुरका अध्यक्ष पावीहाङ राईले बताए ।
ट्रेल रेस विजेतालाई नगद ५० रूपैयाँ, दोस्रोलाई ४० हजार रूपैयाँ, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौलाई १० हजार रूपैयाँ पुरस्कार दिइनेछ। त्यस्तै ४० वर्ष माथिको भेट्रानतर्फका शीर्ष ३ जनालाई १५ हजार , १० हजार र ५ हजार पुरस्कार राखिएको छ।
केही वर्षअघि कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा ‘मैयुङ-टेम्के-साल्पा -सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले पूर्वमा पहिचान गरेको मुन्दुम पदमार्ग सुरू गरिएको थियो। पदमार्गमा किराती जीवनशैली, दूधकुण्ड (नुम्बुर) देखि सगरमाथा, मकालु, कुम्भकर्णहुँदै कञ्चनजंघालगायत हिमालको लामो लर्कन देखिन्छ।
टेम्केमैयुङ गाउँपालिकाको आर्थिक सहयोग र रिमाचुङ एजुकेशन एण्ड स्पोटेस् एकाडेमी भोजपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।