भोजपुरमा आगलागी हुँदा एक बालिकाको मृत्यु, २ जना घाइते
भोजपुर – भोजपुरको षडानन्द नगरपालिका १४ बिहीबारे बजारमा आगलागी हुँदा बालिकाको मृत्यु भएको छ, भने उनका बुवा, आमा दुवै जना घाइते भएका छन् । बिहीबार बेलुका ७ बजे स्थानीय खेममणि तामाङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागी हुँदा घर पुर्णरुपमा जलेर नष्ट भएको हो ।
तामाङको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जलेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । घर धनी खेममणि तामाङ, उनकी श्रीमती मिना तामाङलाई आगोले पोलेर घाइते भएको छन् । उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचार भइरहेको छ ।
उक्त आगो फस्ट राइफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानीयको सहयोगमा राती साढे २ बजे नियन्त्रण लिएको थियो ।
आगलागीबाट खेममणि तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ ।