आजबाट बडादसैँ सुरू, आज घटस्थापना
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ ।
बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
घटस्थापनाको साइत बिहान १०:२३ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् ।
घटस्थापनाको दिनदेखि नवरात्र सुरू हुन्छ । नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजाआरधना गर्ने परम्परा छ ।