‘म ठूलो भएपछि पढेर कलाकार बन्छु’
‘बाबु तिमी ठूलो भएसि के बन्छौं ?
यो म सानो छँदा मलाई निकै सकस पार्ने प्रश्न थियो । घरमा दैनिक जसो आइरहने पाहुना हुन् या आफू पाहुना बनेर गएको ठाँउ, यो प्रश्न मेरा लागि सर्वव्यापी थियो । मानिसहरु मलाई आफ्नो नजिक बोलाउँथे । म पनि उनीहरुबाट चकलेट वा यस्तै अन्य मिठा कोसेलीको आसमा नजिक जान्थें । त्यसरी बोलाउने मध्य कसैले ढाड पछाडि हात लगेर केहि लुकाए झैं गर्थे र सोध्थे —‘भन त बाबु, तिमी ठूलो भएसि के बन्छौं ? ’ म सँग उत्तर हुन थिएन तर उत्तर दिनुको विकल्प पनि हुदैन्थ्यो । म एकछिन सोच्थे । हैन हैन, म प्रश्नको उत्तर बारे सोच्दैन्थें । म त यो सोच्थे कि प्रश्नकर्ताको पछाडी लगिएको हातमा कुन स्वादको चकलेट वा बिस्कुटको पोको होला रु म ठुलो भएपछि के बन्छु भन्ने कुरा त सोच्नै पर्दैनथ्यो किनभने उनीहरुलाई चाहिएको उत्तर मलाई थाहा हुन्थ्यो ।
मलाई गुरुकुलमा कलाकार भन्दा पनि कलाप्रति रुचि भएको बिद्यार्थीको रुपमा हेरिन्थ्यो । अंग्रेजी साहित्यको (भाषाको हैन) विद्यार्थी भएका कारण मैले महोत्सव र तालिमहरुमा दोभाषेको काम गर्ने अवसर पाउँथे । अनुवाद गर्दै जाँदा नै धेरै सिक्ने मौका पाए । र, ती सिकेका कुराहरु अवलम्बन गर्दै मञ्चसम्म उक्लिन पाएँ ।
आजकल धेरै नयाँ साथीहरु कलाकारिता वा रंगमञ्च सिक्न चाहनुहुन्छ । कतिपय पढाई करियर सवै छोडेर आउन चाहनुहुन्छ । यस्तो बेलामा मलाई आफैंप्रति प्रश्न आउँछ– हामीले खनीरहेको यो बाटोमा पढाईको हिस्सालाई किन कतै छोडीरहेका छौं ? किन कलाकारहरुको पढाई प्रसंग कतै प्रेरक बनेर देखिदैन ? अध्ययनलाई किन हामीले औपचारिक डिग्रीको कागजमा मात्रै बेरेर राखिरहेका छौं ?
म एउटा यस्तो समयको प्रतिक्षामा छु जहाँ हामीकहाँ पनि रंगमञ्च वा कलाको औपचारिक अध्ययन (स्कुलिङ) शुरु भएको हुनेछ र हाम्रा नानीबाबुहरु निः सन्देह भनिरहेका हुन्छन्– ‘म ठूलो भएपछि पढेर कलाकार बन्छु ।’
झबिन्द्र न्यौपाने बुटवल