आईजीपी ज्ञवालीको विदाइ गरिँदै, थापाले भोलिबाट कार्यभार सम्हाल्ने

२४ असार, काठमाडौं
नेपाल प्रहरी प्रमुख आईजीपी ठाकुर ज्ञवालीसहित दुई प्रहरी उच्च अधिकृतले बुधबारबाट अवकाश पाउँदैछन् ।३० वर्षे सेवा अवधिका कारण ज्ञवालीसहित उनका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले अवकाश पाउन लागेका हुन् ।ज्ञवालीको अवकाशपछि प्रहरीको नेतृत्व ०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहका शैलेश थापा क्षेत्रीले गर्नेछन् । थापालाई आईजीपी बनाउन सरकारले मंगलबार नै निर्णय गरिसकेको छ ।
प्रहरीका एक जना एसएसपीका अनुसार महानिरीक्षक ज्ञवालीको विदाइका लागि बुधबार साँझ ५ बजे प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम राखिएको छ । जहाँ विभागका अधिकृतहरु उपस्थित हुनेछन् ।
नयाँ महानिरीक्षकको फूली लगाउने कार्यक्रम भने बिहीबार राखिएको छ । त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गरिनेछ ।