निरन्तर बर्षाकोकारण पृथ्वी राजमार्ग अबरुद्ध बाटोखोल्न दुई दिन लाग्ने अनुमान
पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उहाँले भन्नुभयो, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।”
मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उहाँले बताउनुभयो । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि बढाइने उहाँले जानकारी दिनुभयो


मौसम अनुकूल भएमा यस सडकखण्ड भने आज सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन् । रासस