रेडियो   टिभी

आज नेपाल संवत् ११४२, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै


काठमाण्डाै – हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उहाँले भन्नुभयो ।

२००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाण्डौ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका ठाउँमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरिब नागरिकको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षको दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो ।

२०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा समेत काठमाण्डौमा अझै छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>