प्रदेश २ मा विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा
चितवन । प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णयअनुसार नै बुधबार सार्वजनिक विदा दिइएको हो ।
शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत बुधबार मुख्य दिन वैवाहिक कार्यक्रम आयोजना हुनेछ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।
आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्रका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका छन् ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन र शनिबार फूलबारी लीला मनाइएको छ भने आइतबार धनुष यज्ञ मनाइँदैछ ।
त्यस्तै, २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।