रेडियो   टिभी

उच्च अङ्कले घट्यो नेप्से परिसूचक


काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिन थालेपछि लगातार ओरालो लागेको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार समेत ओरालो लाग्दा दुई हजार ३०० को बिन्दुमा झरेको छ । आजसम्म आइपुग्दा बजार झण्डै एक हजार अङ्कले घटेको छ ।

यस्तै बजार पूँजीकरण समेत झण्डै रु ११ खर्बले घटेको छ । साताको पहिलो दिन नै सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक झण्डै ८९ अङ्कले ओरालो लागेको हो । बजारले ‘बियरिस टेण्ड’ समातेको भन्दै यस्तो बेला नआत्तिइकन लगानी गर्न जानकारहरूले सुझाव दिएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ८८.७० अङ्कले ओरालो लागेर दुई हजार ३६१.२७ अङ्कमा झरेको छ । यो पछिल्ला दिन मध्येको सबैभन्दा न्यून बिन्दु हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१५ अङ्कले आरोलो लागेर ४५०.०८ अङ्कमा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तोमा समेटिएको छ । कूल २२८ कम्पनीको ७४ लाख ६० हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेर तल्लो बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार बैंकिङ ४४.५३, व्यापार १८९.२५, होटल तथा पर्यटन ८७.२६, विकास बैंक २८१.७९, जलविद्युत् १२४.९६, वित्त १००.२७, निर्जीवन बीमा ४९०.१२, उत्पादन १८६.६८, अन्य ६३.०४, लघुवित्त १७५.६३, जीवन बीमा ५०७.६१, सामूहिक लगानी कोष ०.२ र लगानी ३.१५ अङ्कले ओरालो लागेका छन् । कारोबारका आधारमा मञ्जश्री फाइनान्स शीर्ष स्थानमा रह्यो ।

सो बैंकको रु ३१ करोड २८ लाख ८३ हजार १९१ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु १३ करोड ६३ लाख ७९ हजार ८६७, नबिल बैंक रु ११ करोड ५९ लाख ५२२, महालक्ष्मी विकास बैंक रु आठ करोड २६ लाख १२ हजार ४५३ र अपि पावर कम्पनी रु सात करोड ४ लाख ८३ हजार ८८० बराबरको कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब १९ अर्ब ६४ करोड ९८ लाख २३ हजार ९१६ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
लोकप्रिय
Advertisement
Sanatan Online
?>